Logo

नेता होइन, जनता सुध्रिनु पर्छ

संविधानको पूर्ण कार्यान्वयनका निम्ति तीनै तहको निवार्चन गर्नुपर्ने बाध्यता सरकारलाई रहेको छ। सोही बाध्यता अनुसार २०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सबै शक्तिका साथ सरकार लागि परेको छ।

नेपालको संविधान २०७२ ले नेपाललाई संघिय लोकतन्त्रिक गणतन्त्रात्मक देशका रुपमा व्याख्या गरको छ। स्थानीय तहको संरचना अनुसार निर्वाचन गर्नुपर्ने भएकाले सरकाले संविधान जारी भएको सत्र महिनापछि सात सय ४४ गाउँपालिका र नगरपालिका घोषणा गरेको छ।
एकपटक डोजर डुलाएर भत्काएका भिर पाखालाई नगरपालिका घोषणा गरिएको छ। सामान्य स्वास्थ्य उपचार तथा रोजगारका लागि गाँउबाट शहर वा सदरमुकाम जानुपर्ने बाध्यता अझै छँदैछ। जनताका दुःख कम नहँदै गाविस नगरपालिका भए। त्यसको प्रतिफल जनतालाई झन् सास्ति थपिएको छ।
जनताले तिर्ने राजस्वमा वृद्धि भएको छ। सामान्य कामगर्न समेत सरकारी कर्मचारीको पाउ मोल्नुपर्ने अवस्थाको यहा धेरै व्याख्या गरिरहनु नपर्ला। हामी सबै त्यसको भुक्तभोगी नै हौं।
गाउँमा ढलको आवश्यकता छैन। नियमित बिजुली र बाह्रै महिना सवारी साधन चल्ने सडक मात्रै भएपनि तत्काललाई चित्त बुझाउने बाटो हुने थियो। स्थानीय तहको घोषणापछि जिल्लाबाट जनतालाई दिँइदै आएको सेवा स्थानीय तहबाटै दिने भनिएको छ। तर कर्मचारी तथा भौतिक स्रोतसाधन अभावको बाहानामा सबै स्थानीय तहबाट जनतालाइ सेवा दिन सकिरहेको छैन।
उता मधेसका केही जिल्लामा मधेसी मोर्चाका कार्यकर्ताले स्थानीय निकायमा अवरोध गरेका छन्।
मधेसकेन्द्रित दलसँग सहमति जुटिनसकेकाले देशैभरि एकैचरणमा स्थानिय निकायको चुनाव गर्न सुरक्षाका चुनौती थपिने देखिन्छ। विगत १९ वर्षयता स्थानीय निकायको चुनाव हुन नसक्दा देशभर अराजकता र राजनीतिक स्वेच्छाचारिता बढेको छ। स्वच्छ राजनीति र विधिको शासनका लागि समेत स्थानीय निकायको चुनाव आवश्यक छ।
केन्द्रीय राजनितिको प्रभाव स्थाानीय तहसम्मै राम्रै गरी देखापरेको हालको अवस्थामा स्वच्छ र जन–उत्तरदायी प्रतिनिधि पाउन मुस्किल छ। गुटगत राजनितिका कारण अवसरवादी चिन्तन हरेक तहका नेतामा रामै्रसंग देखिन्छ।
गुटको नेता रिझाइ लाखौं खर्च गरेर स्थानीय निकायमा चुनिएका नेताले जनताप्रति जिम्मेवार भई जनताको हितमा काम गर्लान् भनेर आशा गर्नु हाम्रो दिवा सपना मात्रै हुने छ। त्यो त नेताहरुको भागबण्डा गर्ने शैलीबाट नेताले आफ्नै परिवार मात्रै बनाउने रहेछन भन्ने स्पष्ट भैसकेको छ।
हामीले हाम्रा प्रतिनिधि चयनगर्दा चलाखी अपनाउनु पर्ने बेला आएको छ। विगतमा हामीले भ्रष्टचारी अवसरका ढोंगी नेतालाई जिताउनाले हाम्रो देशले निकास पाउन सकेन। एसियाकै गरीब राष्ट्रका जनता हुन पुगेका छौं।
चुनाव जितेर काठमाडौंमा घर ताक्ने नेतालाई बहिस्कार गर्नैपर्छ। भोट हालेर जिताएको नेतालाई गाँउको विकासका लागि कुनै चिन्ता हँुदैन भने त्यस्ता नेतालाई भोट हालेर जिताउनुले कुनै अर्थ रहँदैन।
जनप्रतिनिधि छान्दा एकपट सबैले सोचौं। के हामीले भोट दिँदै गरेको नेताहरुले शहरमा घर ताक्दै छन् कि गाउँको विकासका लागि जोड दिँदै छन्। जसरी निर्वाचनमा नेतालाई एक भोटले जति महत्व राख्दछ त्यसैगरी हामीले दिने एक भोटको पूर्ण सदुपयोग हुनेगरी स्वविवेक प्रयोग गर्न जरुरी छ। ताकी आज हामीले चुनेका प्रतिनिधिको कार्यशैलीप्रति भविष्यमा पछुताउनु नपरोस्।
हिजोआजको राजनीति हेर्दा लाग्छ राजनीति भनेको फटाहा गफाडीले गर्ने पेशा भए जस्तो देखिन्छ। नयाँ तथा साना राजनीतिक दललाई हामीले विश्वास गर्न सकिरहेका छैनौं। अबको जनप्रतिनिधि छान्दा उसको पृष्ठभूमि, नैतिक आचरण, सामाजिक प्रतिष्ठा, कार्यशैली, क्षमता, शैक्षिक योग्यता लगायतमा ध्यान दिनुपर्ने देखिन्छ।
हरेक क्षेत्रमा शैक्षिक योग्यता र कार्यकौशल चाहिने जमानामा, देश हाँक्ने नेताहरुमा समेत यो लागु हुन आवश्यक छ। अब नेताले विगतमा भोगेको जेलसजाय वा जनयुद्धको अनुभवलाई लिएर मात्रै भोट दिन सकिदैन।
जनता अब भाषण होइन सकारात्मक परिवर्तन हेर्न चाहन्छन्। विकासको चरम सीमा भोग्न चाहन्छन्। जनता नेताकोमात्रै होइन कसैको पनि दासी भै बाँच्न चाहदैनन्। जनता नेताको पिछलग्गु हुन चाहदैनन्। विधिको शासन चाहन्छन्। कानुनी राज्य चाहन्छन्।
जनताले देशको विकासका लागि पटक पटक आन्दोलनमा साथ दिए। जनताले ज्यानको आहुति दिए, तर ति सबै क्रान्ति नेताको अवसरका निम्ति मात्रै भए। अब पनि हामीले सही वा गलत नेता छान्न सकेनौैं भने देश अझै दसकौं पछाडि जाने निश्चित छ।
जनप्रतिनिधि छान्दा स्वतन्त्र व्यक्ति होस् वा सानो राजनितिक दलको नेता नै किन नहोस्, उसमा देश विकासको स्पष्ट खाका छ, क्षमता छ, देशलाई नेतृत्व गर्नसक्ने खुबी छ भने सच्चा नेता ती हुन सक्दछन्।
शिक्षाले नै मानिसलाई नयाँ कुराको खोज र त्यसको प्रयोग गर्ने अभिप्रेरणा दिन्छ। विज्ञानको चरम विकास लीला अपार छ। त्यसैले हाम्रो देशको विकास सम्भव छ। यो परम्परावादी चिन्तन भएका नेताबाट होइन दक्ष, सक्षम र शिक्षित मानिसबाट मात्रै सम्भव छ।
चिया पसलमा बसेर देशको विकास भएन भन्दै रोइलोमात्रै गर्ने कि आफ्नो विवेक पनि प्रयोग गर्ने हो? सोचौं, देश बनाउन चाहिने जग हाम्रै हातमा छ। सिन्को नभाँच्ने लोभिपापी गफाडी नेतालाई सधैँका लागि राजनीतिबाट बिदा गरौं।

 

प्रतिक्रिया दिनुहोस्