“छोरी भ्रुणहत्या एक जघन्य अपराध”
“छोरा छोरी विचको लैंगिक भेदभावका कारण छोरीलाई हेर्ने दृष्टिकोणमा कहिँ कतैपनि सकारात्मक परिवर्तन आएको छैन । जतिसुकै संभ्रान्त र शिक्षित परिवारको हुँ भनेर वकालत गरेपनि हरेक परिवारमा छोरा छोरी विचको असमानताको पर्खाल यथावत छ । छोरालाई कुलको दिपक, वंशको मालिक, उत्तराधिकारी, धनमाथिको राति गेडी, बुढेसकालको साहारा आदि शब्दहरुले विभुषित गरिन्छ । तर छोरीलाई सन्तान उत्पादन गर्ने मेशिन, अरुको घर जाने जात, भोग र बिलासका पुतली, चरणकी दासी को रुपमा सम्बोधन गर्ने, मनोवल गिराउने, तिरस्कार गर्ने गरिन्छ । यहि रोगी मानसिकता बोकेको परम्परागत सोचले पनि महिलाहरूमा छोरा पाउने चाहना बढेको छ । महिलाले छोरा पाए घरकी लक्ष्मी कहलिने छोरी पाए अलच्छिनी हुने रुढिवादी र कु–संस्कारले ग्रस्त समाजबाट अपहेलित र उपेक्षित हुने डरले अधिकांश महिलाहरु आफ्नो शरिरको जोखिम मोलेर पनि छोरा पाउन चाहन्छन् । जवकी लिङ्ग परिक्षण र भ्रुणहत्या एउटा जघन्य अपराध हो ।”
दीपशिखा शर्मा
प्राकृतिक रूपमा गर्भाशयमा रहेको शिशुलाई स्वाभाविक रूपले जन्मन नदिई कृत्रिम पद्धतीको माध्यमद्धारा गर्भमै तुहाउने वा मार्ने कार्यलाई भ्रुणहत्या भनिन्छ । छोरी भ्रुणहत्या दक्षिण एशियाकै सबभन्दा संबेदनशिल र जटिल मुद्धा हो । छिमेकी मुलुक भारत,बंगलादेश,पाकिस्तान,अफगानिस्तानमा पनि छोरा पाउने रहरमा दिनहुँजसो हजारौं छोरी भ्रुणहत्या गरी गर्भमै मारिन्छन् । नेपालको सन्दर्भमा मुलुकी ऐनको ११ औं संसोधनपछि मात्र गर्भपतनलाई कानुनी मान्यता दिईएको पाईन्छ । राज्यले सुरक्षित गर्भपतन सेवालाई मान्यता दिई गर्भपतन ऐन २०६० को स्थापना गरिसकेको छ । नेपालको संबिधान २०७२ को धारा ३८ (२) ले यसलाई अझ बलियो बनाईदिएको छ । सन् २०१५ लाई लक्षित गरी बिश्वब्यापी रूपमा सञ्चालित मिलिनियम डेभलपमेन्ट गोलले भ्रुणहत्याजस्तो संबेदनशिल मुद्धामा थोर बहुत सुधार गरेपनि बिशेष परिस्थितिमा हुन गएको असुरक्षित गर्भपतनबाट धेरै महिलाहरूले मृत्यवरण गरिरहेका दुखद घटनाहरू दिनहुँजसो सामाजिक सञ्जाल,अनलाईन पोर्टल,पत्रपत्रिका,टेलिभिजनका मुख्य हेडलाईन बनिरहेको यथार्थता सबैको सामु छर्लङ्ग छ । गर्भपतन गराउने वाहानामा लिङ्ग परिक्षण गराई छोरा भए राख्ने र छोरी भए गर्भभित्रै मारिदिने गरिन्छ । यो जघन्य अपराध हो । यो जघन्य अपराधलाई रोक्न सरकारले ल्याएको योजना र रणनीति कागजमा मात्र सीमित हुनाले लिङ्ग परिक्षण गर्ने र पहिचान गरी भ्रुणहत्या गराउने व्यापार फस्टाउँदो छ । विज्ञानको महत्वपूर्ण उपलब्धी अल्ट्रासाउण्ड मेसिन बजारमा आएपछि अझ छोरी भ्रुणहत्या व्यापक रुपमा फैलिँदै गएको छ । छोराहरुको तुलनामा छोरीहरुलाई समान दृष्टिकोण बाट हेर्ने नजरियामा परिवर्तन नआउनु नै भ्रुणहत्या जस्तो जघन्य अपराधको जरो हो । जवसम्म छोरा र छोरी बराबरी भनेर बाबु आमा अनि समाजले स्विकार्दैन तवसम्म जति नीति र कानुनहरु ल्याएपनि यस्ता जघन्य अपराधलाई उन्मुलन गर्न सकिँदैन ।
घटना नं १)
दाङ्ग जिल्लाकी लालमती चौधरी एक विद्यालयकी शिक्षिका हुन् । उनको उमेर ३८ वर्ष भयो, १५ वर्षदेखि निरन्तर प्राथमिक विद्यालयको शिक्षिकामा कार्यरत छिन् । उनको २ छोरीहरु छन् । एउटी छोरी ८ वर्षकी कक्षा ३ मा र ६ वर्षकी छोरी कक्षा १ मा पढ्छन् । उनी लगायत उनका श्रीमान एवं सासुससुराको छोरा पाउने चाहना भएकोले पटक पटक आफू गर्भवती हुनासाथ लिङ्ग परिक्षण गर्न क्लिनिक गइहाल्छिन् । पेटमा दुईपटक सम्म छोरी भएको जानकारी डाक्टरले दिनासाथ उनले भ्रुणहत्या गरिन् । अझै छोरा पाउने मोहले उनलाई छोडेको छैन ।
घटना नं २)
धनुषा जिल्लाकी सुम्निमा राजपुत वर्ष ४१ की भइन् । उनको पनी लालमती चौधरी को जस्तै व्यथा कथा छ । वंश चलाउन छोरा नै चाहिन्छ, उनका श्रीमान भन्छन् । एक छोरी की आमा सुम्निमा राजपुतले पनि छोरा पाउने आशामा पटक पटक लिङ्ग परिक्षण गरी भ्रुणहत्या गराईसकेकी छन् । जति पटक गर्भवती हुँदालिङ्ग परिक्षण गराएपनि अन्त्यमा छोरी नै देखिन्छ । उनी दिक्क हुँदै भन्छिन् । पटक पटक को अवोर्शन ले उनको स्वास्थ्य मा नकारात्मक असर परिरहेको छ । उनी ज्यादै कमजोर र दुब्ली पातली देखिन्छिन् । छोरा पाइन भनेर श्रीमान र सासुससुराले दिने चरम मानसिक यातनाले उनी ज्यादै दुःखी छिन् । छोरा पाउन नसकेर समाजबाटै उपेक्षित भएको घटना उनी रुँदै बताउँछिन् ।
घटना नं ३)
रौतहट की हिना खानले पनि छोरा पाउने मोहमा उमेर छिप्पिसकेपछि यु.एस.ए को ग्रिनकार्ड परेको केटा संग विहे गरिन् । हाल उनि यु.एस.ए मै बस्छिन् । आफू गर्भवती भएपछि लिङ्ग परिक्षण गराई छोरा पाउने धोको पुरा गरिन् । उनी भन्छिन् ढिलै भएपनि आखिर छोरा नै भयो । छोरा पाएको उपलक्षमा हर्ष बढाँई गरी आफ्नो गृह जिल्ला रौतहट आएर भव्य पार्टि दिएर फर्किन् ।
माथीका यि उदाहरणहरु नेपाली समाजमा घटेका बिकृत नमुना मात्र हुन् । छोरा छोरी विचको लैंगिक भेदभावका कारण छोरीलाई हेर्ने दृष्टिकोणमा कहिँ कतैपनि सकारात्मक परिवर्तन आएको छैन । जतिसुकै संभ्रान्त र शिक्षित परिवारको हुँ भनेर वकालत गरेपनि हरेक परिवारमा छोरा छोरी विचको असमानताको पर्खाल यथावत छ । छोरालाई कुलको दिपक, वंशको मालिक, उत्तराधिकारी, धनमाथिको राति गेडी, बुढेसकालको साहारा आदि शब्दहरुले विभुषित गरिन्छ । तर छोरीलाई सन्तान उत्पादन गर्ने मेशिन, अरुको घर जाने जात, भोग र बिलासका पुतली, चरणकी दासी को रुपमा सम्बोधन गर्ने, मनोवल गिराउने, तिरस्कार गर्ने गरिन्छ । यहि रोगी मानसिकता बोकेको परम्परागत सोचले पनि महिलाहरूमा छोरा पाउने चाहना बढेको छ । महिलाले छोरा पाए घरकी लक्ष्मी कहलिने छोरी पाए अलच्छिनी हुने रुढिवादी र कु–संस्कारले ग्रस्त समाजबाट अपहेलित र उपेक्षित हुने डरले अधिकांश महिलाहरु आफ्नो शरिरको जोखिम मोलेर पनि छोरा पाउन चाहन्छन् । जवकी लिङ्ग परिक्षण र भ्रुणहत्या एउटा जघन्य अपराध हो । विदेशी मुलुकमा कुनैपनि स्त्रीले गर्भपतन गराएमा आजिवन कारावासको सजाँय तोकिएको छ । विशेष अवस्था जस्तै,बलात्कार बाट रहन गएको गर्भ, र सन्तान पुगिसकेको अवस्थामा लिङ्ग परिक्षण नगरी भ्रुणहत्या गर्न कानुनले पनि छुट दिएको छ । सन्तान पुगिसकेको अवस्थामा अनावश्यक सन्तान उत्पादन गर्नु राम्रो होइन । तर लिङ्ग परिक्षण गरी छोरी हुने वित्तिकै भ्रुणहत्या गर्नु गराउनु जघन्य अपराध हो । यसमा दोषिलाई कडा भन्दा कडा सजाँयको ब्यवस्था गर्नुपर्छ । छोरा पाउने चाहनामा लिङ्ग परिक्षण गराई छोरी भ्रुणहत्या गर्ने नेपालमा मात्र नभै छिमेकी राष्ट्र भारत, चिन, श्रीलंका, इण्डोनेशिया, पाकिस्तान, म्यानमार, भुटान लगायत अन्य देशहरूपनि अग्रपंक्तिमा रहेका छन् ।
भारतका प्रसिद्ध अर्थशास्त्री डा. अमर्त्य सेनको भनाई अनुसार सन् १९८६ मा कुल जनसंख्याको पुरुषको तुलनामा महिलाको अनुपात ठूलो संख्यामा घटेको उल्लेख गरेका थिए । त्यसवेला भारतको लैगिक अनुपात पुरुषमा १०४ महिलामा १०० थियो । अर्थात कुल जनसंख्याको तिन करोड साठी लाख महिलाको संख्या न्युन थियो । विगत २० वर्षको दौरानमा दश मिलियन छोरीहरु भारतमा मात्र हराइरहेका छन् । यानी कि छोराहरुको तुलनामा छोरीहरुको संख्या न्युन छ ।
“मिसिङ्ग¨ गर्ल इन नेपाल” दिपक सुवेदी द्वारा लिखित लेख अनुसार संसारभर एक सय मिलियन यानि कि दश करोड छोरीहरु हराइरहेका छन् । जसमा ६०∞ एशियाका छन् । छोराहरुको तुलनामा छोरीहरुको संख्या दश करोड कम छ । उक्त रिर्पोट अनुसार नेपालमा प्रत्यक वर्ष लगभग ७० हजार भ्रुणहत्या गरिन्छ । जसमा २०∞ गर्भपतन छोरा पाउनको लागी गरिन्छ ।
सन् २०१३ को संयुक्त राष्ट्र संघ जनसंख्या कोष (युएनएफपिए) बाट प्रकाशित लैंगिक अनुपात प्रतिवेदन अनुसार चिनमा औसत लैंगिक अनुपात पुरुषमा १०८, र महिलामा १००, नेपालमा पुरुषमा ९४ र महिलामा १००, भारतमा पुरुषमा १०७ र महिलामा १०० रहेको छ । जसअनुसार अन्य राष्ट्रको तुलनामा नेपालमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ ।
२०६८ सालको जनगणना अनुसार नेपालका विभिन्न जिल्ला जस्तैः धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, दाङ, काठमाण्डौ, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, मुगु र कालिकोटमा पुरुषको भन्दा महिलाको संख्या कम छ । त्यस्तै जातजाति को आधारमा महिला र पुरुषको अनुपात हेर्दा मधेशी समुदाय का जातहरु राजपुत, यादव, कायस्थ, मारवाडी, चमार आदि जातिमा पुरुषको भन्दा महिलाको संख्या कम छ ।
जंगलमा डुलेर हिँड्ने राउटे र खोरीया खनेर बस्ती बसाउने चेपाङ जातीमा पनि पुरुषको तुलनामा महिलाको अनुपात कम छ । पहाडी क्षेत्रमा बसोबास गर्ने ब्राम्हण, क्षेत्री, गुरुङ, मगर समुदायमा पुरुष भन्दा महिलाको अनुपात बढी छ ।
किन र कसरी हुन्छ भ्रुणहत्या ? यसका जोखिम र न्युनिकरणका उपायहरु के के हुन् ?
छोरीको जनसंख्या न्युन हुनुको मुख्य कारणहरु,
१. सामाजिक परम्परा कुसंस्कार र कुरिती ।
२. भ्रुणहत्या/शिशु हत्या गर्ने, फाल्ने ।
पितृसत्तात्मक परिवार कायम गर्न छोरा पाउने मोहमा लिङ्ग परिक्षण गराई छोरी गर्भमा रहनासाथ भ्रुणहत्या गराउने कारणले छोरीको तुलनामा छोराको अनुपात बढ्दै गएको छ । छोरीहरुको संख्या घट्दै गएको पाइएको छ ।
नेपाल परिवार नियोजन संघका अनुसार २००९ र २०११ मा १लाख ६६ हजार ६ सय ७८ गर्भपतन गरिएको थियो । यसरी गर्भपतन गराउने मध्ये सवैभन्दा बढि उमेर २५ देखि ५० वर्षको उमेर समुहका रहेका थिए । सन् २००७ मा संयुक्त राष्ट्र संघ जनसंख्या कोष (युएनएफपिए) सेक्स सेलेक्सन परभ्यासिभनेस एण्ड प्रिपेयर्डनेस इन नेपाल को प्रतिवेदन अनुसार नेपालमा ९८.८∞ महिलाले छोरा चाहन्छन् । छोरा नपाउँदा परिवारबाट भोग्नुपर्ने शारीरिक र मानसिक यातना, श्रीमानले दोस्रो विहे गर्ने डर, छारीलाई विहे गर्दा दिनुपर्ने दाइजो जस्ता कु–संस्कार र कुरितिहरुले पनि महिलाहरु वाध्य भएर गर्भपतन को बाटो रोज्न पुग्छन् ।
कानुनमा के छ ?
मुलुकी ऐन ज्यान सम्वन्धी महलको २८ (ख) ले गर्भपतलाई महिलाको प्रजनन् स्वास्थ्यको अधिकारको रूपमा ब्याख्या गरेको छ । बिशेष अवस्थामा मात्र गर्भपतन गराउन पाउने ब्यवस्था गरेको छ ।
१)गर्भपतन /भ्रुणहत्या गर्न पाउने अवस्थाः
जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवति महिलाको मञ्जुरीले भएमा गर्भपतन गराउनसक्ने कानुनी मान्यता छ । यसका साथै बिकलांग बच्चा जन्मन सक्ने वा उक्त गर्भको कारण गर्भवती महिलाको ज्यान खतरा हुनसक्ने भएमा वा महिलाको शारिरिक मानसिक स्वास्थ्यमा असर पर्ने भएमा जहिलेसकै पनि योग्य चिकित्सकको राय अनुरूप गर्भपतन गराउन पाउने कानुनी ब्यवस्था रहेको छ । बिशेष अवस्थामा गर्भपतनको अधिकार प्राप्त भएपनि सुरक्षित र कानुनी गर्भपतन गर्दा नेपाल सरकारले तोके बमोजिमको प्रकृया अपनाई ईजाजत प्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन गराउनुपर्दछ ।
कानुनले तोकेको अवस्थामा बाहेक वा समयावधि नाघेको अवस्थामा गर्भपतन गराएमा अपराध गरेको ठहर्छ । मुलकी ऐन ज्यान सम्वन्धी महलको २८ नं मा निम्न सजाँयको ब्यवस्था गरिएको छ ।
क) १२ हप्तासम्मको गर्भपतनको हकमा १ बर्षसम्म कैद ।
ख)२५ हप्तासम्मको गर्भपतनको हकमा ३ बर्षसम्म कैद ।
ग)२५ हप्ता भन्दा बढिको गर्भपतनको हकमा ५ बर्षसम्म कैद ।
२) लिङ्गका आधारमा भ्रुणहत्या /गर्भपतन गर्ने गराउनेलाई हुने सजाँय
मुलुकी ऐन ज्यान सम्वन्धी महलको २८ (ग) र २८ (घ) नं अनुसार लिङ्ग छुट्याई भ्रुणहत्या गर्ने÷गराउनेलाई सजाँयको ब्यवस्था गरेको छ । मुलुकी ऐन ज्यान सम्वन्धी महलको २८ (ग)नं अनुसार गर्भपतन गर्ने गराउने उद्येश्यले लिङ्ग पहिचान गर्ने÷गराउनेलाई
३ महिनादेखि ६ महिनासम्म कैदको ब्यवस्था गरेको छ ।मुलुकी ऐन ज्यानसम्वन्धी महलको २८ (घ)लिङ्गको आधारमा गर्भपतन गर्ने/गराउनेलाई ६ महिनादेखि २ बर्षसम्म कैद सजाँयको ब्यवस्था गरेको छ ।
३) बलपूर्वक भ्रुणहत्या/गर्भपतन गराउनेलाई हुने सजाँय ।
कसैले गर्भवती महिलालाई ललाई फकाई,धम्क्याई,करकाप वा प्रलोभनमा पारी गर्भपतन गराएको पाईएमा महिला बिरूद्धको हिँसा बमोजिम अपराध ठहर्याई मुलुकी ऐन ज्यान सम्वन्धी महलको २८(क) अनुसार सजाँयको ब्यवस्था गरिएको छ । जस अनुसार,
क) १२ हप्तासम्मको गर्भ भए १ बर्षसम्म कैद ।
ख) २५ हप्तासम्मको गर्भ भए ३ बर्ष कैद ।
ग) २५ हप्ताभन्दा बढिको गर्भ भए ५ बर्षसम्म कैद ।
४) ज्यान सम्वन्धी महलको ३२ नं अनुसार गर्भवती छ भनी जानीजानी रिसईवीले
गर्भ तुहाउनेलाई
क) २५ हप्तासम्मको गर्भ तुहिन गए ३ महिना कैद ।
ख) २५ हप्ताभन्दा बढिको गर्भ तुहिन गए ६ महिना कैद सजाँय हुने कानुनी ब्यवस्था रहेको छ ।
ग) गर्भवती छ भनी नजानीकन गर्भ तुहिएको हकमा २५ हप्तासम्मको गर्भ तहिएको खण्डमा ५ सय जरिवानाको सजाँय तोकिएको छ ।
घ)२५ हप्ताभन्दा बढिको गर्भ तुहिन गएमा १ हजार रूपियाँ जरिवानाको सजाँय तोकिएको छ ।
भ्रुणहत्या न्युनिकरणका उपायहरु
दोषिलाई कडा भन्दा कडा कारवाही गर्ने, ठोस कानुन बनाउने र तुरुन्त कार्यान्वयन गर्ने गराउने । शिक्षा रोजगार र महिला शशक्तिकरण का कार्यक्रमहरु ल्याउने । सुरक्षित गर्भपतन सेवाको नाउँमा अवैधानिक रुपमा लिङ्ग परिक्षण गरी पहिचानको आधारमा छोरी भ्रुणहत्या गर्ने गराउने प्रवृत्ति दिनानोदिन बढिरहेको छ । तसर्थ उक्त कानुनलाई थपघट गरी लिङ्ग परिक्षण गराउनेलाई ३ महिनादेखि ६ महिनासम्म कैद र लिङ्गको पहिचान गरी भ्रुणहत्या गराउनेलाई ६ महिना देखि २ वर्षसम्म कैदको व्यवस्था त्यति प्रभावकारी नभएको ले यो कानुनलाई तुरुन्त खारेज गरी लिङ्गको पहिचान गरी भ्रुणहत्या गराउनेलाई आजिवन कारावासको सजाँय हुनुपर्छ । छोरी भ्रुणहत्या गराउने स्वास्थ्यकर्मी लाई पनि कडा भन्दा कडा सजाँयको व्यवस्था गरी उनीहरुको लाइसेन्स जफत गरिदिने र भविष्यमा स्वास्थ्य क्षेत्रको कुनैपनि काम गर्न नपाइने कडा कानुन बनाउन जरुरी छ । कडा भन्दा कडा सजाँयको व्यवस्था भएमा कसैले भुलेरपनि लिङ्ग परिक्षण गराउने र छोरी भ्रुणहत्या गराउने दुस्साहस गर्ने थिएनन् । जसका कारण छोरा र छोरी विच हुने भेदभाव र असमानताका खाडलहरु क्रमशः पुरिँदै जाने थिए की ?
लिङ्गको पहिचान गरी छोरी भ्रुणहत्या गराउने क्लिनीकलाई निगरानीमा राख्ने र कडा भन्दा कडा कारवाही गर्ने जस्ता कानुनहरु तत्काल ल्याइनुपर्छ । छोरी पाउने महिलालाई सरकारले प्रोत्साहित गर्न आमा र बच्चाको संरक्षणका पोलिसीहरु ल्याउने । छोरीलाई निःशुल्क शिक्षा र रोजगारीमा महिला आरक्षण तथा महिला सशक्तीकरण कार्यक्रमहरुद्वारा महिलाहरुलाई आत्मनिर्भर बनाउने रणनिती ल्याइनुपर्छ । छोरा र छोरी एक हुन् भन्ने मुल नारालाई कोरा कागजमा मात्र सिमित नराखी व्यवहारमा उतार्न सरकार, विभिन्न राजनितिक दल, समाजसेवी, एन.जि.ओ, आई.एन.जि.ओ. लगायत स्थानिय निकायबाट समेत आवश्यक पहल गर्न जरुरी छ ।
लिङ्गको पहिचान गरी छोरी हुनासाथ गर्भभित्रै मारिदिने, छोरी भएको निहुँमा अवोध शिशु जन्माई खोलामा फ्याँक्ने, ट्वाईलेटमा फ्याँक्ने, जिउँदै गाडिदिने, जंगलमा फालिदिने जस्ता जघन्य अपराधहरुलाई एकजुट भएर सामाजिक बहिस्कार गरौं । कसैले सो कुकार्य गरेको देखेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्ने, अपराध घटेको जानकारी दिने व्यक्तिलाई प्रोत्साहित गर्ने, सुचना दिनेको नाम गोप्य राख्ने र पुरस्कारको व्यवस्था समेत गरिदिनुपर्छ । जसले गर्दा अपराध न्युनिकरण गर्न थप सहयोग पुग्नेछ ।
काठमाण्डौं