Logo

महेन्द्रको भुत मन्छिन ७ प्रदेश

“५ विकास क्षेत्र ,जिल्ला र गाविसको सिमांकनमा कुनै विरोध छैन भने नेताहरु किन पाँच प्रदेश छोडेर ७ प्रदेश भन्दै कुर्लिएका छन त ? उत्तर सजिलो छ पाँच प्रदेश बनाएर नेताहरु राजा महेन्द्रको अनुशरण गर्न चाहदैनन् अथवा भनौ उनीहरु जनजिब्रोबाट महेन्द्रको भुत मन्छिन चाहन्छन् ।   उनीहरु शाहि शासनको नाम निशाना मेटाएर इतिहासमा यो मात्र सावित गर्न खोज्दै छन् कि नेपालको इतिहासमा अरु कोहि वीर पुरुषको नाम निशानै नरहोस । ”     मुकुन्द ढुंगाना

शिर्ष दलका नेताहरुले  ७ प्रदेशमा सहमति गर्दा जनस्तरमा भने ठुलै तहल्का मच्चियो । प्रत्येक नेपालीलाइ अखण्ड नेपाल , अखण्ड अञ्चल , अखण्ड जिल्ला अनि अखण्ड गाविस नै चाहिएको छ भने संघियता कसलाई कहाँ र किन चाहिएको छ त ? मुलुकमा आज संघियता विकासको आधार भन्दा पनि विनाशको एजेण्डा बनेको छ । एउटै माला झै उनीएका नेपालीहरु आज जात , धर्मका नाममा लडिरहेका छन् ।

यदि एक दशकको समयावधिमा पनि संघियताका विषयमा गहन अध्ययन भएको छैन र कहिले ११ त कहिले ८ ,७ प्रदेश भन्दै अन्त्यमा ७ प्रदेशमा आइपुग्दा उनीहरुले कस्तो अध्ययन गरे होला त सोचनिय विषय बनेको छ  । जनतालाइ अल्मल्याउने किसिमले प्रदेशको सिमांकन नामांकन गर्दैमा विकास हामफालेर आउदैन । उचित स्रोत साधनको अध्ययन नै नगरी कहिले मधेसि दलसंग घुडा टेक्दै त कहिले पदको जिजिविषाका कारण जति प्रदेश बनाउँदा पनि हुन्छ भन्ने तर्क शतप्रतिशत गलत देखिन्छ  ।

एक दशक सम्म हारालुछमा लागेर अन्तिम अवस्थामा ७ प्रदेशको सिमांकन देखाउनु भन्दा ५ विकास क्षेत्रलाइ पाँच प्रदेशमा नामांकन गर्दा अहिले देखिएको द्वन्दको भने अन्त्य सम्भव देखिन्थ्यो । आफुहरुले ठुलै कसरत र मेहनत गरे झै गरेर जनताको आँखामा छारो हाल्नु भन्दा ५ विकास क्षेत्रलाई समेट्दा केहि उपलब्धि हुने देखिन्छ । किन हुँदैन जनमतको सम्मान ? जनताका आँखामा छारो हालेर तँ रोए जस्तो गर म कुटे जस्तो गर्छु भन्दै जनता लडाउने र आफुहरु बफे डिनरमा कुम जोड्ने गर्दा इतिहासले पक्कै मुल्यांकन गर्ने नै छ ।

जनताले संघियताको माग नै नगरेको अवस्थामा दलगत तथा व्यक्तिगत स्वार्थका कारण नेपाल भुमि रणसंग्राममा जाने देखिन्छ । हिजो कुनै पनि नेपालीले हिन्दु राष्ट्रको विरोध नै नगरेको अवस्थामा आफुलाइ सच्चा कम्युनिष्ट देखाउने हेतुले जे निणर्य गरियो त्यो आज सरासर गलत हो भन्ने पुष्टि भैसकेको छ ।

५ विकास क्षेत्र ,जिल्ला र गाविसको सिमांकनमा कुनै विरोध छैन भने नेताहरु किन पाँच प्रदेश छोडेर ७ प्रदेश भन्दै कुर्लिएका छन त ? उत्तर सजिलो छ पाँच प्रदेश बनाएर नेताहरु राजा महेन्द्रको अनुशरण गर्न चाहदैनन् अथवा भनौ उनीहरु जनजिब्रोबाट महेन्द्रको भुत मन्छिन चाहन्छन् ।   उनीहरु शाहि शासनको नाम निशाना मेटाएर इतिहासमा यो मात्र सावित गर्न खोज्दै छन् कि नेपालको इतिहासमा अरु कोहि वीर पुरुषको नाम निशानै नरहोस ।

इतिहास अमर छ र रहनेछ व्यक्तिगत लालच र पार्टीगत स्वार्थका लागी देशको माटोसंग गद्धारी गर्नेहरुको नाम इतिहासमा कलंकित रहने छ । शाही शासन सयौ बर्षहरु चल्दा जति कलंकित रह्यो त्यो भन्दा सयौ गुणा गणतान्त्रीक शासन कलंकित रहन्छ भन्ने खालका शंका नेताहरुका कर्तुतका कारण पैदा भइरहेका छन ।

मधेसमा नाजायज मागहरुलाइ सम्बोधन गर्न भन्दै जुन किसिमका आन्दोलनहरु भइरहेका छन् त्यसको श्रेय फितलो राजनीतिक अवस्थालाइ नै जान्छ । नेपालको संविधान ,शासन र राज्यको बागडोर भारतले समाउन पुग्दा आज अंगिकृत नेपाली नागरिकता बोकेको नेपाली राष्ट्रपति ,प्रधानमन्त्री पदको जिजिविषा बोकेर बसेको छ । हिजोका गलत निर्णयका फलहरुको रुपमा यस्ता अन्य धेरै नाजायज मागहरु छन् जसले भोली नेपालको पहिचान मेटाउन लागीपर्ने छ ।परनिर्भरताका कारण भारतले उठ भने उठ्नु र बस भने बस्नु बाहेकको विकल्प छैन । जबसम्म स्थानीय स्रोत साधनको परिचालन र जनशक्तिको उचित व्यस्थापन हुन सक्दैन तब सम्म भारतको दाउपेच कायमै रहने देखिन्छ ।

लेखक  मुकुन्द ढुंगाना राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) का सस्थापक अध्यक्ष तथा राष्ट्रिय  खबरका सम्पादक हुन ।

 

प्रतिक्रिया दिनुहोस्